२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

भारतीय गायिका आशा भोसले अस्पताल भर्ना, छातीमा संक्रमण

आइतवार, चैत्र २९ २०८२०६:२८

भारतीय संगीत जगतकी प्रख्यात पार्श्व गायिका आशा भोसलेको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एक निजी अस्पतालमा भर्ना गरिएको छ।

९२ वर्षीया गायिकालाई शनिबार साँझ दक्षिण मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै आशाजीलाई छातीमा संक्रमणका कारण अस्पताल लैजानुपरेको बताएकी छिन्।

अस्पताल भर्ना भएलगत्तै चिकित्सकहरूको टोलीले उनको उपचार सुरु गरेको छ। केही प्रारम्भिक रिपोर्टहरूमा उनलाई श्वासप्रश्वास र मुटु सम्बन्धी समस्या देखिएको उल्लेख गरिए पनि परिवारले भने संक्रमण र कमजोरीका कारण उपचार भइरहेको पुष्टि गरेको छ।

नातिनी जनाईले लेखेकी छिन्, “हजुरआमाको उपचार भइरहेको छ र हामी आशावादी छौं कि उहाँ छिट्टै निको हुनुहुनेछ। हामी तपाईंहरूलाई उहाँको स्वास्थ्यबारे सकारात्मक अपडेट दिनेछौं, तर अहिले हाम्रो गोपनीयताको सम्मान गरिदिनुहुन अनुरोध गर्दछौं।”

आफ्नो आठ दशक लामो सांगीतिक यात्रामा हजारौं कालजयी गीतहरू पस्किसकेकी आशा भोसले विश्वकै सर्वाधिक धेरै गीत रेकर्ड गर्ने गायिकाको रूपमा चिनिन्छिन्।

उनको स्वास्थ्य अवस्थालाई लिएर भारत लगायत विश्वभर रहेका उनका प्रशंसकहरूले चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्। अस्पताल प्रशासनले उनको अवस्था स्थिर रहेको र विशेषज्ञ डाक्टरहरूको निगरानीमा राखिएको बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij