२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

डा. महाथिरको नेतृत्वबाट उठेको मलेशिया : राष्ट्रिय रूपान्तरणका लागि प्रेरणादायी नेतृत्व

शुक्रवार, चैत्र २० २०८२०१:०३

काठमाडौं — मलेसियाका प्रख्यात चिकित्सक तथा दूरदर्शी राजनीतिज्ञ महाथिर मोहम्मद आधुनिक मलेसियाको रूपान्तरणमा निर्णायक भूमिका निर्वाह गर्ने विश्वस्तरीय नेतामध्ये एक मानिन्छन्। दीर्घकालीन योजना, स्पष्ट दृष्टिकोण र दृढ कार्यान्वयन क्षमताका कारण उनले मलेसियालाई विकासोन्मुख अवस्थाबाट समृद्ध र प्रतिस्पर्धी अर्थतन्त्रतर्फ उन्मुख गराएका हुन्।

महाथिरले मलेसियाको प्रधानमन्त्रीका रूपमा २२ वर्ष नेतृत्व सम्हालेका थिए। सन् २००३ मा उनले आफ्नो उत्तराधिकारीलाई सहज र सहर्ष सत्ता हस्तान्तरण गर्दै नेतृत्वको उदाहरण प्रस्तुत गरे। तर, पछि देशमा सुशासन कमजोर हुँदै भ्रष्टाचार र अनियमितता बढेको महसुस भएपछि उनले ९० वर्षको उमेर पार गरिसकेपछि पनि सन् २०१९ मा पुनः सक्रिय राजनीति प्रवेश गरे।

आफूले लामो समय नेतृत्व गरेको दलबाट अलग भई नयाँ राजनीतिक दल गठन गरेका महाथिरले पुनः चुनावी प्रतिस्पर्धा गर्दै विपक्षी नेता बने र अन्ततः पुनः प्रधानमन्त्री पदमा निर्वाचित भए। ९२ वर्षको उमेरमा पुनः शासन सम्हाल्नु उनको अद्वितीय नेतृत्व क्षमताको प्रमाणका रूपमा लिइन्छ।

मलेसियाको विकास यात्रा प्रायः द्रुत आर्थिक रूपान्तरणको उदाहरणका रूपमा लिइन्छ। सन् १९६० को दशकमा आर्थिक चुनौतीहरू झेलिरहेको मलेसिया र सिंगापुरले छोटो समयमै उल्लेखनीय प्रगति हासिल गरे। यसमा महाथिर मोहम्मद र सिंगापुरका नेता ली क्वान यू को दूरदर्शी नेतृत्वलाई मुख्य कारक मानिन्छ।

महाथिरको “भीजन २०२०” (Vision 2020) मलेसियाको विकास यात्राको केन्द्रबिन्दु रह्यो, जसलाई उनले सन् १९९१ मा सार्वजनिक गरेका थिए। यस योजनाको उद्देश्य सन् २०२० सम्म मलेसियालाई पूर्ण विकसित राष्ट्र बनाउनु थियो। उनले आफ्नो चिकित्सकीय पृष्ठभूमिलाई आधार मानेर “२०/२० दृष्टि” को अवधारणालाई राष्ट्रिय दृष्टिकोणसँग जोड्दै स्पष्ट र सटीक लक्ष्य निर्धारण गरेका थिए।

भीजन २०२० अन्तर्गत मलेसियाले नौ प्रमुख चुनौतीहरू पहिचान गरेको थियो, जसमा राष्ट्रिय एकता, आत्मनिर्भर र आत्मविश्वासी समाज निर्माण, लोकतान्त्रिक परिपक्वता, नैतिक तथा आध्यात्मिक मूल्यको सुदृढीकरण, सहिष्णुता प्रवर्द्धन, वैज्ञानिक तथा प्राविधिक विकास, सांस्कृतिक समृद्धि, आर्थिक न्याय सुनिश्चितता तथा प्रतिस्पर्धी र गतिशील अर्थतन्त्र निर्माण समावेश छन्।

महाथिरले निजी क्षेत्रको भूमिकालाई पनि विशेष महत्व दिएका थिए। उनका अनुसार निजी क्षेत्र सक्षम, इमानदार, जिम्मेवार र गतिशील नभएसम्म राष्ट्रिय विकास सम्भव हुँदैन। साथै, मानव संसाधन विकासलाई दीर्घकालीन समृद्धिको आधारका रूपमा लिँदै उनले निरन्तर तालिम, सीप विकास र कार्यसम्पादन सुधारमा जोड दिएका थिए।

उनको नेतृत्वमा मलेसियाले ज्ञानमा आधारित अर्थतन्त्रतर्फ तीव्र रूपमा अग्रसर हुँदै प्रतिव्यक्ति आयमा उल्लेखनीय वृद्धि हासिल गर्‍यो, जसले देशलाई विश्व अर्थतन्त्रमा प्रतिस्पर्धी बनायो।

महाथिरको नेतृत्व शैलीले देखाएको सन्देश स्पष्ट छ—राष्ट्रिय विकास कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन, बरु स्पष्ट दृष्टिकोण, दीर्घकालीन योजना, अनुशासित कार्यान्वयन र सामूहिक सहभागिताबाट मात्र सम्भव हुन्छ।

मलेसिया र सिंगापुरको विकास यात्रा विकासशील राष्ट्रहरूका लागि प्रेरणादायी उदाहरणका रूपमा स्थापित छ। नेपालजस्ता मुलुकले पनि स्पष्ट राष्ट्रिय दृष्टिकोण, सुशासन र दीर्घकालीन रणनीतिक योजनामार्फत समृद्धिको बाटो तय गर्नुपर्ने आवश्यकता यस उदाहरणले उजागर गरेको छ।

सम्बन्धित विषय:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij