२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

सोमवार, पौष २८ २०८२०८:२२

रुपन्देही - युवा व्यवसायी तथा वैकल्पिक राजनीतिक अभियन्ता सुदन ज्ञवालीले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी थालेका छन्। लामो समयदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएका ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने गरी आन्तरिक तयारी अघि बढाएका हुन्।

ज्ञवाली यसअघि नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टी हुँदै हाल रास्वपामा आबद्ध नेता हुन्। दशकभन्दा बढी समयदेखि परम्परागत राजनीतिभन्दा फरक धारको वकालत गर्दै आएका उनले आफ्नो उम्मेदवारी आकस्मिक नभई निरन्तर संघर्ष र राजनीतिक यात्राको स्वाभाविक निष्कर्ष भएको बताएका छन्।
‘यो कुनै एक दिनको निर्णय होइन, वैकल्पिक शक्ति निर्माणका लागि वर्षौँदेखि गरिएको त्याग र संघर्षको परिणाम हो,’ उनले उम्मेदवारीबारे प्रतिक्रिया दिएका छन्।

बुटवललाई कर्मथलो बनाएका ज्ञवाली एक स्थापित युवा व्यवसायीसमेत हुन्। अस्पताल, अटो–ल्याण्ड तथा पर्यटन क्षेत्रमा उनको लगानी रहेको छ। व्यवसायसँगै उनी विभिन्न सामाजिक तथा व्यावसायिक संघ–संस्थामा सक्रिय रहँदै आएका छन्। दर्जनौँ संस्थामा आबद्ध भएर सामाजिक सेवामा संलग्न भएकै कारण उनलाई स्थानीय स्तरमा ‘ग्राउन्ड रियालिटी’ बुझ्ने नेताका रूपमा चिनिने गरिएको छ।

सामाजिक क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ। अर्घाखाँची हंसपुर समाजको पूर्वअध्यक्ष रहिसकेका ज्ञवालीको रुपन्देहीमा बसोबास गर्ने अर्घाखाँचीबासीहरूसँग गहिरो सम्बन्ध छ। विशेषगरी सैनामैना नगरपालिका र बुटवलका विभिन्न वडाहरूमा अर्घाखाँचीबाट आएका मतदाताको उल्लेख्य उपस्थिति रहेकाले त्यसले आफ्नो राजनीतिक यात्रामा सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ।

रुपन्देही–२ नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेल निर्वाचित हुँदै आएको क्षेत्र हो। पौडेलसँगको प्रत्यक्ष प्रतिस्पर्धा चुनौतीपूर्ण भए पनि स्थानीय मुद्दा, युवाको रोजगारी, उद्यमशीलता, स्वास्थ्य र सुशासनलाई केन्द्रमा राखेर आफूले फरक विकल्प प्रस्तुत गर्न सक्ने ज्ञवालीको दाबी छ।
स्थानीय विश्लेषकहरूका अनुसार यो क्षेत्रमा परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक शक्तिप्रति आकर्षण देखिन थालेको छ।

अघिल्लो निर्वाचनमा रास्वपाले रुपन्देही–२ मा २७ हजारभन्दा बढी समानुपातिक मत प्राप्त गरेको थियो। सो मत परिणामले पनि आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने व्यक्तिका लागि सम्भावनाको आधार तयार भएको राजनीतिक वृत्तको विश्लेषण छ।

युवा, व्यवसायिक अनुभव र सामाजिक पहुँचलाई आफ्नो मुख्य बल ठान्ने ज्ञवालीको उम्मेदवारी घोषणाले रुपन्देही–२ को राजनीतिक प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाउने संकेत देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij