धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषभित्र तीन जनाको शव फेला परेको छ। जलेर नचिनिने अवस्थामा ती शव भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी इन्स्पेक्टर रुद्र खड्काका अनुसार शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोलीले भवनमा प्रवेश गर्दा दोस्रो तलामा जलेर अवशेषमात्र बाँकी रहेको एक शव भेटिएको थियो। केही बेरमै थप दुई शव पनि त्यस्तै अवस्थामा बरामद गरिएको हो।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले भाटभटेनीमा आगो झोस्दा मानिस फसेको आशंका गरिएको थियो। मंगलबार रातिदेखि नै भित्र कम्तीमा तीन जना अड्किएको हल्ला चलेको थियो। आफन्तजनहरूले विभिन्न निकायमा सम्पर्क गरिरहेपनि आगो निभेपछि मात्र खोजतलासी सुरु भएको थियो।
प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि पठाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस